धनगढीः जेन-जी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकाल्दै जेन-जीका समूहहरूले अब आफ्नै नेतृत्वमा सरकार गठन हुनपर्ने बताएका छन्।
बिहीबार २३ वटा विभिन्न जेन-जी समूह तथा एलाइन्सका प्रतिनिधिहरूले राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै आफ्नै नेतृत्वमा सरकार गठन गरिदिन आग्रह गरेका हुन्।
उनीहरूले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई तत्काल फिर्ता बोलाउन र जेन-जीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि मध्यस्थता गरिदिन राष्ट्रपतिसमक्ष माग गरे।
‘चुनाव मात्र गराउने सरकार मान्य छैन’
जेन-जी समूहले राष्ट्रपतिलाई बुझाइएको ज्ञापनपत्रमा वर्तमान सरकार दिशाहीन भएको आरोप लगाइएको छ।
विद्रोही पक्षले राखेका सुशासन र संविधान संशोधनका एजेन्डाहरूलाई लत्याएर सरकार केवल ‘अर्ली इलेक्सन’ (चाँडो चुनाव) गराउने बाटोमा मात्र केन्द्रित भएको उनीहरूको गुनासो छ।
ज्ञापनपत्रमा भनिएको छ, ‘यो सरकारले विद्रोही पक्षका माग पूरा गर्न सक्दैन भने यसलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनको लागि मध्यस्थताको भूमिका निर्वाह गर्न सम्माननीयज्यूसमक्ष निवेदन गर्दछौं।’
विशेषगरि, वर्तमान सरकारले ठूला भ्रष्टाचार प्रकरणमा संलग्नहरूलाई तत्काल कारबाही गर्न नसकेको, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न संविधान संशोधन लगायतका माग सम्बोधन गर्न नसकेको र विद्रोहका क्रममा भएको दमन र नरसंहारमा संलग्नमाथि कारबाही नगरिएको भन्दै आक्रोश जनाएका हुन्।
विद्रोह र सहादत केवल चुनावका लागि मात्र नभएको भन्दै उनीहरूले सरकारले विद्रोहको म्यान्डेट गुमाइसकेको दाबी गरे।
‘जेन-जी नेसनल फ्रन्ट लाइनर’, ‘जेन-जी पार्लियामेन्ट’, ‘स्वतन्त्र जेन-जी नेपाल’ लगायतका २३ संस्थाले संयुक्त रूपमा बुझाएको पत्रमा पुराना दल वा पात्रको विकल्पमा आन्दोलनको नेतृत्वकर्ताहरूकै हातमा सत्ताको बागडोर हुनुपर्ने सङ्केत गरिएको छ।
उनीहरूले प्रधानमन्त्री कार्कीले जनअपेक्षा पूरा गर्न नसकेको भन्दै विकल्प खोज्न राष्ट्रपतिलाई गुहारेका हुन्।
प्रतिक्रिया जनाउनुहाेस्

















