विज्ञापन

हाम्रो धनगढी हामी बनाउँछौँ : भव्य साइकल र्‍यालीसहित सरसफाइ जागरण

विज्ञापन
Image
विज्ञापन

 धनगढी:   धनगढी शहरलाई सफा, हरियो, उज्यालो र सुरक्षित बनाउने संकल्पका साथ ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियानअन्तर्गत आज भव्य साइकल र्याली सम्पन्न भएको छ। जनस्तरमा सरसफाइप्रति प्रभावकारी चेतना जगाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाले आयोजना गरेको र्यालीमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, विद्यार्थी, स्वयंसेवक र कर्मचारी गरी करिब दुई सय जनाको उत्साहजनक सहभागिता रहेको थियो। धनगढी चौराहाबाट सुरु भएको र्याली क्याम्पस रोड हुँदै पार्कमोडमा पुगेर विसर्जन भएको थियो। सहभागीहरूले हातमा सरसफाइसम्बन्धी सन्देशमूलक प्लेकार्ड बोकेर ‘सहर सफा राखौँ, स्वस्थ जीवन अपनाऊँ’ जस्ता नारा लगाउँदै जनचेतना फैलाएका थिए। पछिल्ला वर्षहरूमा उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको ‘सफा र हरियाली धनगढी’ कार्यक्रमले शहरको भौतिक तथा दृश्यात्मक स्वरूपमा उल्लेखनीय परिवर्तन ल्याए पनि जनस्तरमा थप सचेतना विस्तार आवश्यक रहेको भन्दै यस्ता र्यालीको आयोजना गरिएको हो।

  

र्यालीमा सहभागी साइकलयात्री कोपिला कुँवरले सरसफाइ अभियान प्रशासनको मात्र नभई हरेक नागरिकको साझा दायित्व भएको बताइन्। “सहर सफा राख्नु हामी सबैको कर्तव्य हो। नियमित साइकल चलाउँदा वातावरणमैत्री मात्र हुँदैन, स्वास्थ्यका लागि पनि अत्यन्त लाभदायक हुन्छ,” उनले भनिन्। यस्तै, वर्षौंदेखि साइकल यात्रा गर्दै आएका साइकलयात्री महन्त पनेरुले उपमहानगरको सफा शहर अभियानलाई ‘उत्कृष्ट पहल’ भनेर प्रशंसा गर्दै यसको निरन्तरता र जनसहभागिता बढाउन आग्रह गरे। “साइकल चलाउँदा प्रदूषण न्यूनीकरणमा ठूलो योगदान पुग्छ।

यो जीवनशैलीले शहरलाई मात्र नभई हामी सबैलाई स्वस्थ र ऊर्जावान बनाउँछ,” उनले थपे। र्यालीमा सहभागी सुदूरपश्चिम प्रदेशसभा सदस्य रमेश सिंह धामीले धनगढीले देशमै सफा र सुन्दर शहर अभियानको नमुना प्रस्तुत गर्न थालेको बताए। “धनगढीको यो परिवर्तन अन्य स्थानीय तहका लागि प्रेरणाको स्रोत बनेको छ। यस्ता अभियानलाई थप सशक्त बनाउन सबैको सक्रिय सहभागिता अपरिहार्य छ,” उनले भने। नियमित साइकल चलाउने आफूले स्वास्थ्यमा उल्लेखनीय सुधार महसुस गरेको उल्लेख गर्दै धामीले नागरिकलाई शहर सुन्दर बनाउन योगदान दिन आह्वान गरे।

यसै क्रममा, सरसफाइमैत्री शहर अभियानअन्तर्गत उपमहानगरपालिकाले विद्यार्थीहरूबीच ‘अबको धनगढी कस्तो हुनुपर्छ ?’ शीर्षकमा चित्रकला प्रतियोगिता पनि आयोजना गरेको थियो। विद्यार्थीहरूले रंग र रेखामार्फत भविष्यको धनगढीको कल्पना प्रस्तुत गर्दै सरसफाइ, हरियाली, वातावरण संरक्षण, यातायात व्यवस्थापन र पूर्वाधार विकासजस्ता विषयलाई जीवन्त बनाएका थिए। यो गतिविधिले बालबालिका तथा किशोर–किशोरीमा जिम्मेवारीबोध, सकारात्मक सोच र भविष्यप्रति चेतनाको विकासमा महत्त्वपूर्ण योगदान पुगेको उपमहानगरपालिकाको दाबी छ। धनगढी उपमहानगरपालिकाले यस्ता अभियानको प्रभावलाई निरन्तर विस्तार गर्दै शहरलाई देशकै आदर्श ‘सफा, हरित र सुरक्षित’ शहरको रूपमा स्थापित गर्ने लक्ष्य दोहोर्याएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन